
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले सरकारले नियुक्तिका लागि सिफारिस गरेका १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
बैठकपछि समिति सभापति बोधनारायण श्रेष्ठले सरकारी सञ्चारमाध्यम र संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय भएको जानकारी दिए।
समितिले उजुरी दिनका लागि १० दिनको समय तोकेको छ। त्यसपछि असोज २० गते बिहान ११ः१५ बजे बैठक बसेर प्राप्त उजुरी खोल्ने निर्णय गरिएको छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई राजदूतमा सिफारिस गरेको छ।
त्यस्तै जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई प्रस्ताव गरिएको छ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकबाट एग्रिमो (स्वीकृति) लिन पठाइनेछ।
सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तावित व्यक्तिहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।