
माघ २७, काठमाडौँ / रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।
मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिएका हुन् । उनका अनुसार ८ जना घाइते भएका छन् । बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको थियो । बस प्रहरीले चालकलाई पक्राउ गरेको छ ।