२५ वैशाख काठमाडौँ / रूकुमपश्चिम सोती घटनामा जातीय विभेद कसुर बदर गरेको भन्दै पीडित परिवारले न्याय परिषदमा उजुरी दिएका छन् ।
पीडित परिवारले बिहीबार न्याय परिषदमा पुगेर उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध उजुरी दिएका हुन् ।
परिषदमा उजुरी दिन सोती घटनामा मारिएका नवराज विकका बुवा मुनलाल नेपाली, गोबिन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनार पुगेका थिए ।
न्याय परिषदका सचिव यमबहादुर बुढामगरले पनि पीडित परिवार परिषदमा आएको बताए । गत वैशाख १६ गते उच्च अदालत सुर्खेतका न्यायाधीशहरू मैनाली र भण्डारीले सोती घटनामा २३ जना आरोपीलाई जिल्ला अदालत सुर्खेतले दिएकै जन्मकैद सजायलाई सदर गरेको थियो ।
तर जातीय भेदभाव तथा छुवाछुतमा जिल्ला अदालतले दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानालाई बदर गरेको थियो । जातीय विभेदकै कारणले २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या भएको तर त्यही कसुरमा उच्च अदालतले उल्ट्याएको भन्दै पीडित परिवारले विरोध जनाउँदै आएको छ ।
सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोबिन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो ।