५ जेठ काठमाडौँ / यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।
सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् ।
लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ । यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो । यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान इन्दु वर्मा २९ रनमा अविजित रहिन् । उनले २७ बलमा २ चौका प्रहार गरिन् । रुवि पोद्दार ६ रनमा नटआउट रहिन् ।
ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एन्ड बोल्ड भइन् । रुविना क्षेत्री २३ रन बनाउँदा ईशा ओझाको बलमा क्याच आउट हुन पुगिन् । पूजा महतो १३ रन बनाउँदै पेभेलियन फर्किइन्। राजमती ऐरीले ८ तथा कविता कुँवरले ५ रन थपे ।
त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो ।
यूएईका लागि ओपनर तथा कप्तान ईशा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भइन्। विकेटकिपर तिथा सतिसले २१ रन बनाउँदै आउट भइन् । लावन्या केनीले १२ रन बनाउँदै आउट भइन्। हिना होट्चान्दानीले २० रन थपिन् ।
नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् । मनिषाले आफ्नो स्पेलमा मात्र २० रन दिइन् । कविता कुँवरले दुई विकेट लिइन् । कविताले अन्तिम ओभरमा २ विकेट लिँदै यूएईलाई रोकेकी हुन्। राजमती ऐरीले एक विकेट आफ्नो नाममा गरिन् ।