७ जेठ काठमाडौँ / काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको हो ।
आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बन्द गरेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि प्राविधिक रुपमा निर्माण दिउँसो गर्नुपर्ने भनेपछि बन्द गरेर निर्माण गर्न लागिएको हो ।
सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीले अनुरोध गरेका छन् ।