१९ जेठ काठमाडौँ / देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ ।
गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ ।
समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो ।
समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको छ ।