२ असार, काठमाडौं / प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि बैठक बहिष्कार गरेर बाहिरिएको छ । प्रतिपक्षमा दुई दल आसनमा नहुँदा त्यसतर्फको कुर्सी खाली हुनु स्वभाविक हो । तर, सतपक्षतर्फकै कुर्सी समेत खाली देखिन्छन् । यसले बजेटमाथिको छलफलमा सांसदहरूको उत्साह नरहेको देखाउँछन् ।
आइतबार पनि प्रतिनिधि सभाको दृश्य यस्तै थियो । तर, हाजिरीमा भने २०५ जना सांसदको उपस्थिति थियो । सोमबार पनि १७५ भन्दा बढी सांसदले हाजिर गरिसकेका छन् । तर, सभाकक्षमा कुर्सी भने खाली खाली देखिन्छन् ।
सांसदहरूले ढिलो आउँदा पनि हाजिर गर्न पाउँछन् । कतिपय सांसद् आफ्नो बोल्ने पालो ख्याल गरेर संसद् पुग्ने गर्दछन् । संसद बैठक सकिएको आधा घण्टा पछिसम्म हाजिर गर्ने सुविधा उनीहरूलाई हुन्छ । यसकारण कति जना उपस्थित भए भन्ने अन्तिममा मात्रै थाहा लाग्छ ।
प्रतिनिधि सभाको बैठक तीन सातापछि आइतबारबाट कार्यसूचीमा प्रवेश गरेको हो । तर, रास्वपा र राप्रपाको विरोध कायमै छ । विपक्षी दलको विरोध र अवरोधकाबीच सदन चलाएको भनेर कतिपयले आलोचना गरिरहेका छन् । सदनभित्र पनि सांसदहरूका कुर्सी खाली देखिएका हुन् ।