‘राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको छ’
अहिलेको बजेटले नेपालको भविष्य निर्धारण गर्न सक्दैन् : प्रभु साह
खेलकुद र महिला मन्त्रालय खारेज गर्न प्रभु साहको माग
काठमाडौं, ८ असार / आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् । उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गदिँनँ, गर्न पनि दिन्नँ । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभागलगायतका विभागहरुले अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुलाई तर्साउने, धम्काउने र असुली गर्ने काममा लागेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्यसचिवकै नेतृत्वमा सचिवहरु आफ्नो स्वार्थअनुसारको कानून बनाउनको लागि नेताहरुकोमा धाईरहेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ नेपाललाई समृद्ध बनाउँछु, तर नेपाल ग्रे–लिष्टमा पर्छ । नेपालको पुँजी विदेश लैजाने खेलमा लाग्नुहुन्छ । सरकार नै लागेको हामी हेर्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोलेपनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनताप्रति उत्तरदायी छु भनेर भनेको भएपनि आजको संसद्मा प्रधानमन्त्रीको कार्यालयमाथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए । प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे ।
उनले भने,‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदापनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो ? संसदलाई जवाफ नदिने जनउत्तरदायी ? उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ । एकातिर भन्नुहुन्छ म लोकतन्त्रको लागि लडेको छु, तर जनादेशविपरित सरकार बनाउनुहुन्छ । एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान ल्याउनुहुन्छ । यो जो तमाशा भैरहेको छ, भन्ने एउटा अनि गर्ने अर्को । बोली एउटा अनि व्यवहार अर्को यो छद्यमभेषी माहोलले देशलाई कहाँ लैजान्छ भन्ने प्रश्न आउँछ ।’
उनले अहिले देशमा उद्योगहरु बन्द भैरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज विक्रि वितरण घटिरहेको र सटरहरु बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए । यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ । उनले भने,‘अहिले सरकारपिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरुलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौं । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौं । अर्थमन्त्रीलाई भन्न चाहन्छु–तपाईंले टार्गेट गरेको राजश्व उठेको छैन । यही असारको पहिलो सातासम्मको रेकर्ड लिनुहुन्छ भने ७२ प्रतिशत राजश्व उठेको छ । पुँजीगत खर्च जम्मा ४२ प्रतिशत भएको छ । कुनैबेला ७.७ प्रतिशतसम्म कायम रहेको आर्थिक वृद्धिदर अहिले ४.६ प्रतिशतमा झरेको छ । तपाईंले टार्गेट गरेको ऋण अनुदान आधा पनि आएको छैन् । अनि यो अवस्थाबाट तपाईंले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ भएका योजनाहरु पूरा नहुँदै काटिएकोमा पनि साहले आक्रोश पोखे । भएका योजना काटेर नभएका नभएका योजना खडा गरेर यो सरकारले समृद्धिको आधार कसरी खडा गर्छ भनेर साहले प्रश्न सोधे ।
उनले सरकारले अहिलेको अवस्थालाई इमानदारितापूर्वक स्विकार गर्न नसकेकोमा पनि आलोचना गरे । उनले भने,‘उहाँहरु (सरकार) ले गरेको कमिटप्रति इमानदार हुनुहुन्न । उहाँहरुले अहिले जे योजना ल्याईरहनुभएको छ, त्यसले नेपालको भविष्य निर्धारण गर्न सक्दैन । त्यसअर्थमा पनि यसमा गम्भीर हुन आग्रह गर्दछु ।’
उनले सहकारी विकास मन्त्रालयको नाम र गरिमा ठूलो भएपनि काम भने केही नगरेकोमा बजेटप्रति असन्तुष्टि पोखे । उनले भने,‘जहाँसम्म सहकारी विकास मन्त्रालयको कुरा छ, भोजपुरीमा एउटा कहावत छ–नाम उँच, काम बुँच । एउटा सम्मानित व्यक्तित्व गणेशमानजीको हामी सम्मान गर्छौं । उहाँको सुपुत्र प्रकाशमानजी, जो आँफैमा एउटा व्यक्तित्व हुनुहुन्छ । गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । यसो के न केही ल्याउनुहोला भनेको हात्ति आयो हात्ति, फुस्स भयो । अरु दल त छोडिदिनुहोस, अरु ठाउँ त छोडिदिनुहोस उहाँको आफ्नै पार्टी पनि सन्तुष्ट हुन सकेन । उहाँले आफ्नै स्वर्गीय पिताजीको सम्मान गर्नुको साटो अपमान गरिरहनुभएको छ । म भएको भए त यहाँ सदनमा आउँदा मुख छोपेर आउँथे । जुन ढंगको उहाँले काम गर्नुभयो । म पनि सहरी विकासमन्त्री भएँ । जुनबेला ३९ अर्बको बजेट थियो, र ७४ अर्बको ठेक्का गरेको थिएँ । १० अर्बको संघीय सघन सहरी पूर्वाधार थियो त्यसको ५४ अर्ब २ अर्बभन्दा नघटाईकन ठेक्का गर्न भनेका थियौं । खुद्रा योजना ५० लाखभन्दा तल एउटा पनि नलिने भनेका थियौं । तर, आज एक लाखको योजना र दुई लाखको योजना राखिराख्दा, असमान ढंगले राख्दा सहरी विकास हुन्छ यसरी ? खुद्रे योजनाले सहकारी विकास हुन्छ ?’ उनले प्रकाशमान सिंहले आफ्नो व्यक्तित्वअनुसार सहरी विकासको मोडेल देखाउनेगरि काम गर्नुपर्नेमा आज गरेको कामले जनता निराश रहेको आरोप लगाए । उनले भने,‘तपाईंजस्तो व्यक्तित्वको बारेमा केही बोलौं भन्ने मनमा थिएन, तर विवश छु । तर, नबोली हुँदैन भन्ने लागेर बोल्ने कोशिस गरें ।’
उनले युवाहरुजति सबै विदेश पठाएर युवा मन्त्रालय चलाउनुभन्दा मन्त्रालयको नाम नै परिवर्तन गरी बुढाबुढीहरुको मन्त्रालय राख्न सुझाव दिए । उनले भने,‘यहाँका राष्ट्रिय खेलाडीहरु त यहाँ भविष्य नदेखेर विदेश पलायन भएका छन् । खेलकुद प्रतियोगिता नै हुँदैन अनि यो मन्त्रालयको नाम खेलकुद मन्त्रालय राखेर हुन्छ त? क्रिकेटमा अलिकति प्रगति गरिरहेको छ, तर देशमा एउटापनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम छैन । भएको पनि एउटै प्रदेशमा बजेट खन्याउनुहुन्छ । मधेश प्रदेशले क्रिकेटमा प्रगति गरिरहेको छ, तर मधेशमा क्रिकेट स्टेडियम नै छैन । मधेशकै मन्त्री खेलकुद मन्त्री भएर पनि केही गर्न सक्नुभएन ।’
उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि केही काम गर्न नसकेको भन्दै खारेजीको माग गरे । उनले संविधानले नै ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित्ता गरेको भएपनि दुई तिहाईको सरकारमा जम्मा दुई जना मन्त्री (एक मन्त्री र एक राज्यमन्त्री) बनाएको भन्दै आलोचना गरे । दुई तिहाईको बलियो सरकारले आफनै मूल्यांकनमा फेल हुन्छ । काम गर्न नसकेको र जे काम गरेको हो त्योमात्रै बोल्न पनि उनले सरकारलाई सुझाव दिए ।