१३ असार काठमाडाैँ / डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो गएको छ । गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । यस्तै ५३ घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले पहिरोका कारण ८ घर पुरिएर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । यसैगरी १२ घरमा मध्यम क्षति पुगेको छ ।
पहिरोले एउटा विद्यालय भवनमा पनि पूर्ण क्षति पुर्याएको उनले बताए । बाँकी घरहरूमा सामान्य क्षति पुगेको उनले बताए । डीएसपी खड्काले भने, ‘बस्तीभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहितको पहिरो आएको हो । मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको देखिन्छ ।’
घटनालगत्तै स्थानीय प्रहरी चौकी तथा जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरीका सईको कमान्डमा ११ जनाको टोली घटनास्थल पुगिसकेको छ । उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, घरभित्रका सामान निकाल्ने र पुनर्स्थापनामा सहयोग गरिरहेको छ ।