१९ असार काठमाडौँ / बाँके प्रहरीले साढे १० ग्राम बढी लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका एक जना जवानलाई पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउँपालिका–३ का २६ वर्षीय सन्जु आले बुधबार बेलुकी ६ बजेतिर आफ्नै घरबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीले बताए ।
सुराकका आधामा पुगेको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रूपमा खटिएको सादा पोशाकका प्रहरीले आलेलाई पक्राउ गरेको हो । उनको घरको कोठाबाट १० ग्राम ६०० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी पातलीले बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका आले नेपाली सेनाका जवान हुन् । उनीबाट फेला परेको नेपाली सेनाको परिचय पत्रका आधारमा उनी हाल जगदल गण काठमाडौंमा कार्यरत रहेको खुलेको हो ।