२७ असार काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।
“मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड । जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन। जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन । ”
प्रधानमन्त्री ओलील् सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।