२९ असार काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० बर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताउनुभयो । पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० बर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बताउँदै ती बिषयमा पनि प्रष्ट पार्नुभयो । २०७८ मङ्सिर १० गते साँझ सौराहामा भएको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उहाँले बताउनुभएको ।
‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियोे’ पोखरेलले भन्नुभयो – पार्टीमा देखिएको तत्कालीन संकटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाइएको हो ।
विधानको दोस्रो संशोधनका रुपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको पोखरेलले स्मरण गराउनुभयो । महासचिव पोखरेलले विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको बताउनुभयो ।
‘विधान महाधिवेशनमा दुई कार्यकाल मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएछ’ महासचिव पोखरेलले भन्नुभयो– हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो ।
विधानको यसै प्रावधानलाई टेकेर पुष्प कडेल तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन हुनु भएको पोखरेलले स्मरण गराउनुभयो । महासचिव पोखरेलले नेकपा एकीकृत समाजवादीबाट २०८० बैशाख ९गते मुकुन्द नेउपानेलाई पार्टी प्रवेश गराउदा ७० बर्षे कार्यकाल हटाइएको पोखरेलले बताउनुभयो । ञपार्टीले ७४ वर्षीय मुकुन्द नेउपानेलाई जिम्मेवारी दिन ७० बर्षे उमेर स्थगित गरेको हो ।