३० असार सुनसरी / सुनसरीमा एक किशोरीको गोली हानी हत्या भएको छ । सोमबार बिहान हरिनगर गाउँपालिका –६ महरम चोकमा १८ वर्षीय किशोरीको गोली हानी हत्या भएको हो ।
बिहान करिब २ः३० बजेतिर भएको उक्त घटनामा हरिनगर–६ निवासी गफार मियाँकी छोरी अरसी खातुनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, अरसीलाई उनका जेठा भिनाजु भारतको पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेका हुन् ।
घटनालगत्तै गोली प्रहार गर्ने अजाद फरार भएका छन् । प्रहरीका अनुसार, बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे जानकारी प्राप्त भएको थियो ।
घटनास्थल प्रहरी चौकी घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व–दक्षिणमा पर्छ । प्रहरीले फरार अजाद मियाँको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण कार्यालयबाट प्रहरी परिचालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा लाग्ने एउटा नपड्केको गोली फेला परेको छ । शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।