२०८२ श्रावण ३१, शुक्रबार

खोटाङबाट सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ ।
खोटाङबाट सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

६ साउन काठमाडौँ / खोटाङ जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।

शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो । जिल्ला अस्पतालमा सोमबार शल्यक्रियामार्फत जन्मिएका शिशुको काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । उद्धार गरिएका शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए ।
जन्मिने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ । तीन पटकसम्म औषधि चलाउँदा समेत व्यथा नलागेपछि शल्यक्रिया गरिएको डा सङ्ग्रौलाले बताए ।

शिशुको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको आरोप लगाउन थालेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस