२६ साउन काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा हुने भएको छ ।
दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर लामिछानेले आफूलाई थुनाबाहिर राख्न माग गरेका छन् । उक्त निवेदनमाथि सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुन लागेको हो ।
लामिछानेले थुनामुक्त गर्न माग गरी गत साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ हुनसकेको थिएन । सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले २०८१ माघ १३ गते एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।
त्यसविरूद्ध उच्च अदालत गएका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सर्वोच्चले उच्चको आदेश ठीक भएको ठहर गर्दै थुनामै राख्न आदेश दिएको थियो ।