१८ भदौ, उदयपुर/रेडियो नेपाल उदयपुरको बेलका नगरपालिकाले चाडवाडको मुखैमा आफ्ना करारका कर्मचारी हटाएपछि चौतर्फी बिरोध भएको छ । नगरपालिकाको गत भदौ १६ गते बसेको चालु आर्थिक बर्ष २०८२–०८३ को दोस्रो कार्यपालिकाको बैठकले १३ जना कर्मचारीलाई सेवाबाट हटाएको थियो ।
नगरपालिकाको संस्थागत विकास तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा २०७५ फागुनमा स्वीकृत गरी पठाइएको इ७ः बमोजिम स्वीकृत दरबन्दी बाहेक सेवा करारमा नगरपालिकामा कार्यरत कर्मचारीहरूको २०८२ साउन १ देखि करार सेवा नवीकरण नगर्न सिफारिस गरेको थियो तर नगरपालिकाले सबै करारका कर्मचारीको साउनमा म्याद थप गरेर काममा निरन्तरता दिएको थियो । यद्यपि अहिले चाडवाडको मुखमा आएर ८९ जना करार कर्मचारीलाई सेवामा निरन्तरता दिने निर्णय गरेको भएपनि १३ जना कर्मचारीको करार नवीकरण नगरेपछि अहिले नगरपालिका चौतर्फी बिरोधको घेरामा परेको हो ।
कार्यपालिकाले १३ जना करारका कर्मचारीको सेवा नवीकरण नगरेको भन्दै नगर उपप्रमुख जिरा राई, वडा अध्यक्षहरु वसन्त कुमार मगर, प्रेम बहादुर राउत, दिपकराज रेग्मी लगायतले कार्यपालिकाको निर्णयमै फरक मत राखेका छन् । उनीहरुले यसरी जथाभावी कर्मचारी हटाउँदा विकास निर्माणका काम र नागरिकलाई सेवा दिने कुरामा प्रत्यक्ष असर पर्ने भन्दै उनीहरुलाई हटाउन नहुने माग राखेका छन् । कार्यपालिकाको निर्णयमा फरक मत राख्दै उनीहरुले गएको नगर सभाले सम्पूर्ण करारका कर्मचारीको सेवा सुबिधा ब्यबस्थापन गरि वजेट पास गरिएको । नगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत करारका कर्मचारीको बिषयमा केही कुरा उल्लेख नभएको बताएका छन् ।
फरक मत राख्दै उनीहरुले स्थायी दरवन्दी र म्याद थप नगरी निस्कासन गरिएका कर्मचारी वीचको दरवन्दीको तालमेल नमिलेको, स्थानिय कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार संघिय कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार दिएको प्रतिवेदन, दरवन्दी र सुशासन समितिले दिएको प्रतिवेदन बाझिएको बताएका छन् । उनीहरुले सुशासन समितिले पेश गरेको कार्यविधि र म्याद थप नगरी निकालिएका कर्मचारीको नाम हेर्दा नितान्त प्रतिशोधको आधारमा निर्णय गरिएको, करार कर्मचारीको म्याद थप नगर्ने वा गर्ने बिषयमा सम्बन्धित शाखा प्रमुख संग कुनै पनि समन्वय नगरेको आरोप लगाएका छन् ।
नगरपालिकाले यसरी पूर्वाग्रही तरिकाले करारका कर्मचारी निकाल्नुमा फरक राजनैतिक आस्था राखेकोमा प्रतिशोध साँधिएको एमाले बेलका नगर अध्यक्ष हिराजंग राईले बताउनु भयो । राइले सबै कर्मचारीको करारनामा नवीकरणको सम्पूर्ण प्रक्रिया गएको नगर सभाले स्वीकृत गरिएको अवस्था र नयाँ आर्थिक बर्ष सुरु भए संगै करारका सबै कर्मचारी आ–आफ्नो जिम्मेवारीमा काममा रहेको अवस्थाका बीच नेपालीहरुको महान पर्वहरु सुरु हुँदै गर्दा राजनीति पूर्वाग्रह राखेर १३ जना कर्मचारीलाई मात्र हटाउनु नगरपालिकाको पूर्वाग्रह रहेको बताए । स्थानीयहरुले समेत राजनीतिक पूर्वाग्रह साँधेर नगरले चाडबाडका मुखमा कर्मचारी निकालेको भन्दै यसको बिरोध गरेका छन् ।
बेलका नगरपालिकाका उपप्रमुख जिरा राईले आफुहरु निर्वाचित भएर आएपछि सबै जनताको प्रतिनिधि भएको भन्दै यहाँ राजनीतिक आँखाले कसैलाई हेर्न नहुने धारणा व्यक्त गरिन । उनले जुन कर्मचारीलाई आज नगरपालिकाले हटायो यो नियम संगत भएन भन्ने मात्र आफुहरुको माग रहेको बताइन । आफुहरुले राजनीतिक आग्रह पूर्वाग्रहको भन्दापनि विधिको कुरा गरेको उनले जिकिर गरिन ।
श्रम ऐनले समेत संगठित र असंगठित श्रमिकहरुलाई सेवाबाट हटाउनु पुर्व १ महिना अगावै जानकारी गराएर हटाउनु पर्ने ब्यबस्था भए पनी नगरले सो ऐन बिपरित कार्य गरेको प्रष्ट देखिन्छ । नगरपालिकाले ८९ जनाको करार सम्झौता कायम गर्दै १३ जानलाई मात्र सेवाबाट हटाएको थियो जस मध्ये ९ जना महिला कर्मचारी रहेका छन ।
उता नगर प्रमुख अशोक कार्कीले भने यसलाई नियमित प्रक्रिया भएको बताए । नगर प्रमुख कार्कीले नगरपालिकाले फजुल खर्च कटौतीको रणनीति तय गरेको र सुशासन समितिले बनाएको मापदण्डमा नपरेकाहरूको मात्र करार सम्झौता नियमित नगर्ने निर्यण गरेको भन्दै कुन राजनीतिक आस्था राखेको पर्यो के पर्यो तेता आफुले ध्यान नदिएको बताए ।
यद्यपि नगरपालिकाकै एक कर्मचारीले १३ जना कर्मचारी हटाउने निर्णय अचानक आएको भन्दै चाडबाडका मुखमा यस्तो निर्णय नगरेको भए हुने बताए । उनले यसरी कर्मचारी हटाउनु नै थियो भने साउनमै सबै कर्मचारीलाई जानकारी दिएर हटाउनु पर्थ्यो तर नगरपालिकाले पुर्व जानकारी नै नगराई कर्मचारी हटाएको प्रति आफुहरु समेत अचम्मित भएको बताए ।