२ कात्तिक, काठमाडौं / नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका हुन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’
उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे ।
‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ–ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरुले बाहिर निकाल्नुभयो ।’