
१२ कार्तिक मुस्ताङ / बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।
चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
“चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।
मंगलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए ।
हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए । मंगलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । मंगलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो ।