
२ मंसिर, काठमाडौं / ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ ।
प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्न भनेको छ । सोहीअनुसार अहिले सडकमा बाक्लो रूपमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने बताएका थिए । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।