
११ मंसिर, काठमाडौं / औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरणमा रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन दिएको हो ।
सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको अर्थात, म्याद सकिन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्वाध बिक्री–वितरण हुँदै आएको थियो । विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधिका नमुना संकलन गरी परीक्षण गरिने र मापदण्डविपरीत पाइएमा सम्बन्धित ब्याच रिकल गरिएको जनाएको छ ।