२०८३ अषाढ ८, सोमबार

न्यूजिल्यान्डमाथि पुनरागमन जित निकाल्दै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

न्यूजिल्यान्डमाथि पुनरागमन जित निकाल्दै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

८ असार, काठमाडौं । इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा न्यूजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

सोमबार बिहान सम्पन्न खेलमा सुरुआती अग्रता न्यूजिल्यान्डले लिए पनि इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो। यो जितसँगै इजिप्टले विश्वकप इतिहासमै पहिलो पटक जित दर्ता गरेको छ।

खेलको १५औँ मिनेटमा फिन सम्र्यानले गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको न्यूजिल्यान्ड दोस्रो हाफमा भने दबाबमा परेको थियो।

इजिप्टका लागि ५८औँ मिनेटमा मोस्तफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ६७औँ मिनेटमा कप्तान मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले अर्को गोल थप्दै इजिप्टको जित सुनिश्चित गरे।

खेलभर बल पोजिसन र आक्रमणको हिसाबले इजिप्ट हाबी देखिएको थियो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै इजिप्टले न्यूजिल्यान्डको अग्रता उल्टाउन सफल भयो।

यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा जित निकाल्दै २ खेलबाट ४ अंक जोडेको छ। यो नतिजासँगै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा पुगेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

समूहमा इरान र बेल्जियमको समान २–२ अंक रहेको छ भने न्यूजिल्यान्डको १ अंक छ।

विश्वकप इतिहासमा इजिप्टको यो पहिलो जित हो। इजिप्टले सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको थियो। त्यसपछि १९९० र २०१८ को संस्करणमा सहभागी भए पनि जित निकाल्न सकेको थिएन। यसपटक पहिलो खेलमा बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा ऐतिहासिक जित हात पार्दै नयाँ इतिहास रचेको छ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस