
धादिङ, असार १२ । धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै १९औँ नगरसभा सम्पन्न गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बजेटले अधुरा विकास आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।
नगरसभाको उद्घाटन परम्परागत नौमती बाजा हस्तान्तरण कार्यक्रममार्फत गरिएको थियो। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रशिक्षण प्राप्त १५ सदस्यीय वछलादेवी लघु उद्यम नौमती बाजा समूहलाई बाजा हस्तान्तरण गरिएको हो।
उद्घाटन समारोहमा नगर प्रमुख बालकृष्ण आचार्यले नरसिंहा, नगर उपप्रमुख सुरज उप्रेतीले सनाई तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले डोलकी हस्तान्तरण गर्दै नगरसभाको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
नगरसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले नगरसभाको कार्यसूची प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमार्फत नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो।
नगरसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। जनप्रतिनिधिहरूका अनुसार यो वर्तमान कार्यकालको अन्तिम बजेट भएकाले अधुरा योजनाहरू सम्पन्न गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको हो।
वडा अध्यक्ष विशाल भट्टराई, रमेश आचार्य तथा वडा सदस्य विक्रम राना र सरिता रेग्मीले बजेटले नगरवासीका आवश्यकतालाई समेट्दै विकासलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नगरपालिकाका कर्मचारी झविलाल भुषालले संघीयताको मर्मअनुसार मालपोत, नापी तथा भूमिसम्बन्धी सेवासमेत स्थानीय तहमा हस्तान्तरण भए नागरिकले प्रत्यक्ष रूपमा सहज सेवा प्राप्त गर्ने बताउनुभयो।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख २० हजार ८ सय रुपैयाँ (५०.९२ प्रतिशत) र पुँजीगततर्फ ५१ करोड १ लाख ५० हजार रुपैयाँ (४९.०८ प्रतिशत) विनियोजन गरिएको छ।
नगर उपप्रमुख सुरज उप्रेतीका अनुसार चार वर्षअघि सुरु भएका अधुरा आयोजना सम्पन्न गर्ने, **‘एक वडा–एक गौरव आयोजना’**लाई निरन्तरता दिने तथा नगर प्रशासकीय भवनसम्म पक्की सडक विस्तार गर्ने नीति बजेटले समेटेको छ।
नगर प्रमुख बालकृष्ण आचार्यले आफ्नो दोस्रो तथा अन्तिम कार्यकालमा सुरु भएका तर अधुरा रहेका योजनाहरू सम्पन्न गर्नु नै प्रमुख प्राथमिकता रहेको बताउँदै यस वर्षको बजेट सोही लक्ष्यअनुसार केन्द्रित गरिएको जानकारी दिनुभयो।
नगरपालिकाले विगतका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको आधार निर्माण भइसकेको दाबी गर्दै दीर्घकालीन नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।