
धादिङ, भदौ १२ – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको नगद रकम रहेको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भदौ १० गते आएको बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोला नजिक त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीय केही व्यक्तिहरुले सेफ फुटाई भित्र रहेको नगद रकम आफूखुसी बाँडफाँड गरी लगेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुको साथबाट रु. ९२ लाख ६८ हजार ५०५ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद नगदको वास्तविक स्रोत, सेफ कसको हो भन्ने विषय तथा घटनामा संलग्न अन्य व्यक्तिको खोजीसमेत जारी रहेको जनाएको छ। पक्राउ परेकामध्ये अधिकांश धादिङको गल्छी गाउँपालिका र गजुरी क्षेत्रका स्थानीय बासिन्दा रहेका छन्।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको अवस्थामा विपत्तिबाट बगेर आएको सम्पत्तिमाथि गैरकानुनी गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।