
धादिङ, भदौ १० — नेपाल–चीन सीमाक्षेत्रबाट बग्ने भोटेकोशी नदीमा आएको दोस्रो चरणको भीषण बाढीले धादिङ र गोरखा जोड्ने महत्वपूर्ण झोलुङ्गे पुल बगाएको छ। पाँच दिनअघि आएको विनाशकारी बाढीपछि पुनः आएको बाढीले आज बिहान उक्त पुल बगाउँदा स्थानीय जनजीवन प्रभावित भएको हो।
धादिङको घ्याल्चोक र गोरखाको चरौँदी क्षेत्रलाई जोड्ने उक्त झोलुङ्गे पुल तुइन विस्थापित गरी निर्माण गरिएको थियो। आज बिहान आएको तीव्र बहावले पुल पूर्ण रूपमा बगाएपछि दुई क्षेत्रबीचको आवतजावत तथा दैनिक गतिविधि प्रभावित बनेका छन्।
पुल बगेसँगै घ्याल्चोकवासी र चरौँदीवासीबीचको प्रमुख बजार सम्पर्क विच्छेद भएको छ। घ्याल्चोक क्षेत्रका बासिन्दाका लागि चरौँदी बजार मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको छ। स्थानीय कृषकहरूले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बिक्री गर्न र दैनिक उपभोग्य सामग्री खरिद गर्न यही बजारमा निर्भर रहँदै आएका थिए।
स्थानीयका अनुसार पुल बगिएपछि विद्यालय, स्वास्थ्य सेवा तथा व्यापारिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ। विशेषगरी कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन कठिनाइ उत्पन्न भएको छ भने अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत समस्या देखिन थालेको छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग वैकल्पिक आवतजावतको व्यवस्था गर्न तथा दीर्घकालीन समाधानका लागि सुरक्षित र बलियो पुल निर्माण गर्न माग गरेका छन्। बाढीका कारण त्रिशूली तथा भोटेकोशी नदी तटीय क्षेत्रमा रहेका अन्य संरचनाहरू समेत जोखिममा परेका छन्।
प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेको छ।