
नुवाकोट, भदौ १६ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको ठूलो संख्यामा शव नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती क्षेत्रमा एउटै घरभित्र फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पुरिएको अवस्थामा रहेको उक्त घरभित्र २० भन्दा बढी शव फेला परेका छन्। शवको यकिन संख्या भने अझै पुष्टि भइनसकेको उनले बताए।
एसपी रेग्मीले भने, “बेत्रावतीस्थित पुरिएको एउटा घरभित्र धेरै शव फेला परेका छन्। अहिले उद्धार तथा पहिचानको काम भइरहेको छ, संख्या अझै यकिन भएको छैन।”
स्थानीय स्रोतका अनुसार घरको एउटै कोठाभित्र शवहरू छरिएको अवस्थामा भेटिएका छन्। बाढीले बगाएर ल्याएका शवहरू घरभित्र थुप्रिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङले उक्त घरबाट २२ वटा शव फेला परेको जानकारी दिएका छन्। उनका अनुसार घटनास्थल घण्टीघर क्षेत्रभन्दा केही माथि रहेको ठूलो घरमा हो।
“आज एउटै घरमा २२ जनाको शव फेला परेको छ। हामीले घटनास्थलको अवस्था बुझ्न ड्रोन परिचालन गर्न आग्रह गरेका थियौं,” वडा सदस्य तामाङले बताए।
भदौ १० गते रसुवाबाट सुरु भएको भीषण बाढीले त्रिशूली नदी आसपासका क्षेत्रहरूमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा विभिन्न स्थानबाट शव फेला पर्ने क्रम अझै रोकिएको छैन।
सुरक्षा निकायले घटनास्थलमा उद्धार, शव व्यवस्थापन तथा पहिचानको काम तीव्र बनाएको जनाएको छ। यद्यपि बाढी प्रभावित क्षेत्रका धेरै स्थान अझै जोखिमपूर्ण रहेकाले खोज तथा उद्धार कार्यमा चुनौती थपिएको छ।