
भाद्र २६ भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको विद्युतीय कारमा आज बिहान अचानक भीषण आगलागी हुँदा चालकको मृत्यु भएको छ।
बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको हो। आगलागीपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार आगलागीमा चालकको शरीर पूरै जलेको अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार कारभित्र मृत्यु भएका व्यक्ति नारायणी विद्या मन्दिर शिवघाटका पूर्वसञ्चालक अमर पराजुली रहेको बुझिएको छ। मृतकका आफन्तका अनुसार पराजुली आज बिहान उक्त कार लिएर हेटौँडाबाट भरतपुरतर्फ निस्किएका थिए।
कारमा अचानक आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।