
भाद्र २९ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३ सय ९० जनाको शव फेला परेको छ।
सोमबार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार रसुवामा १८६, नुवाकोटमा २०२, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डीएनए नमुना संकलन गरिएको छ।
यसैगरी, पहिचान हुन बाँकी १ हजार ३ सय ५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि हालसम्म ४ हजार ८९ जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।