
असोज ४ काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि नेता प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदनमाथि कार्यदलका केही नेताहरूले असन्तुष्टि जनाएका छन्।
उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले यसअघि तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई सम्पादन गरेर सबैलाई स्वीकार्य हुनेगरी ज्ञवालीले मध्यमार्गी प्रतिवेदन ल्याउने अपेक्षा गरिएको थियो। तर, ज्ञवालीको प्रतिवेदनमा पार्टी पुनर्गठन आवश्यक नरहेको आशय देखिएको भन्दै पुनर्गठन पक्षधर नेताहरू असन्तुष्ट बनेका हुन्।
कार्यदलका एक सदस्यका अनुसार ज्ञवाली कार्यदलका औपचारिक सदस्यसमेत नभएकाले उनको प्रतिवेदनप्रति सुरुदेखि नै प्रश्न उठेको थियो। त्यसमा पनि पार्टी पुनर्गठनको आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन नगरिएको उनको गुनासो छ।
यसअघि महासचिव शङ्कर पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा पार्टी पुनर्गठन आवश्यक रहेको र निर्वाचनमा भएको हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो।
तर उक्त प्रतिवेदनमाथि अध्यक्ष ओलीसहितका नेताहरूले असहमति जनाएपछि थापा, उपाध्यक्ष विष्णु पौडेल र पोखरेललाई दुवै प्रतिवेदन सम्पादन गर्ने जिम्मेवारी दिइएको थियो।
त्यसपछि अध्यक्ष ओलीको निर्देशनमा नेता ज्ञवालीले मध्यमार्गी प्रतिवेदन तयार गरेको बताइएको छ। असोज १ गते अध्यक्ष ओलीको निवास गुण्डुमा कार्यदलका केही सदस्यसहित भएको छलफलमा ओलीले ज्ञवालीलाई यस्तो प्रतिवेदन तयार गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।
ज्ञवालीले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीको राजनीतिक भूमिकाको प्रशंसा गर्दै उनलाई ‘क्रान्तिकारी नेता’का रूपमा प्रस्तुत गरिएको तथा पछिल्लो ‘जेनजी’ आन्दोलनलाई विदेशी षड्यन्त्र र अल्गोरिदमसँग जोडिएको भन्दै व्याख्या गरिएको नेताहरूको आरोप छ।
यही कारण पार्टी पुनर्गठनको मुख्य विषय प्रतिवेदनमा ओझेलमा परेको पुनर्गठन पक्षधर नेताहरूको गुनासो छ।
ज्ञवालीले शनिबार कार्यदलका नेताहरूलाई अध्ययनका लागि प्रतिवेदन वितरण गरेका थिए। त्यसपछि आइतबार बिहानदेखि एमाले पार्टी कार्यालय च्यासलमा ज्ञवाली, थापा र पोखरेलले तयार पारेका तीनवटै प्रतिवेदनमाथि छलफल भइरहेको छ।
कार्यदलका एक सदस्यले प्रतिवेदनबारे प्रतिक्रिया दिँदै ज्ञवालीको तेस्रो प्रतिवेदनले अपेक्षित निकास दिन नसक्ने बताएका छन्।
उनले पुनर्गठन पक्षधर एमाले नेताहरूको भावना प्रतिवेदनमा समेटिन नसकेको दाबी गर्दै त्यसमा ‘आत्मा नभएको’ र ‘अक्षरको थुप्रो’ मात्रै रहेको टिप्पणी गरेका छन्।
कार्यदलको बैठकपछि आइतबार नै एमाले सचिवालय बैठक बस्ने तयारी छ। सचिवालय बैठकमा कार्यदलमा छलफल भएका प्रतिवेदन र पार्टीको आगामी दिशाबारे थप छलफल हुने बताइएको छ।