
काठमाडौं । नेपाली बजारमा बिक्री हुने खाने तेलको गुणस्तर, शुद्धता तथा उपभोक्ता स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले उत्पादन, प्याकेजिङ र बिक्री वितरणमा कडाइ गर्ने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पारेको हो।
प्रस्तावित मापदण्डले खाने तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी स्पष्ट वर्गीकरण गरेको छ। सिधै खान नमिल्ने तेललाई उपभोक्ताका लागि खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
विभागले तोरीको तेललाई उत्पादन प्रक्रियाका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट–एक्सट्र्याक्टेड’ गरी दुई भागमा वर्गीकरण गरेको छ।
एक्स्प्रेस प्रक्रियाबाट निकालिएका रिफाइन्ड, भर्जिन तथा एक्स्पेलर तेल र सल्भेन्ट प्रक्रियाबाट निकालिएको रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ।
सल्भेन्ट प्रक्रियाबाट निकालिएको ‘ग्रेड–१’ तेल भने थप प्रशोधन गरेपछि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो तेलको कन्टेनरमा कम्तीमा ५० मिलिमिटरका ठूला अक्षरमा अंग्रेजीमा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ अर्थात् ‘सोझै खानका लागि होइन’ लेख्नुपर्नेछ।
तेलमा आर्जेमोन मेक्सिकाना लगायतका हानिकारक झार तथा अखाद्य तेल मिसावट गर्न नपाइने व्यवस्था गरिएको छ। साथै पेरोक्साइड भ्यालु र विषाक्त धातुहरूको अधिकतम सीमा पनि तोकिएको छ।
भटमास तेललाई ‘रिफाइन्ड’, ‘डिगम्ड’ र ‘ग्रेड–१’ गरी वर्गीकरण गरिएको छ। तीमध्ये रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ।
डिगम्ड र ग्रेड–१ तेल वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनका लागि कच्चापदार्थका रूपमा प्रयोग गर्नुपर्ने भएकाले खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
यस्ता तेलका कन्टेनरमा पनि ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। साथै तेलमा अफ्लाटक्सिन, हेक्सेन र फस्फोरसको निश्चित सीमा तोकिएको छ।
सूर्यमुखी तेललाई पनि ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट एक्स्ट्र्याक्टेड’ गरी वर्गीकरण गरिएको छ।
दुवै प्रक्रियाबाट उत्पादित रिफाइन्ड तेल तथा एक्स्प्रेस प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेललाई सिधै खान योग्य मानिएको छ। सल्भेन्ट एक्स्ट्र्याक्टेड प्रक्रियाबाट उत्पादित ग्रेड–१ तेल भने सिधै खान नमिल्ने व्यवस्था गरिएको छ।
तेल कृत्रिम रङ तथा स्वादरहित हुनुपर्ने र पेरोक्साइड भ्यालु तथा अफ्लाटक्सिनको निश्चित सीमा कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
नयाँ मापदण्डमा खाने तेलको विज्ञापन र प्याकेजिङमा प्रयोग हुने शब्दावलीमा समेत कडाइ गरिएको छ।
उत्पादकले उपभोक्तालाई झुक्याउने वा अतिरञ्जित दाबी हुने शब्दावली प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। ‘सुपर–रिफाइन्ड’, ‘एक्स्ट्रा–रिफाइन्ड’, ‘माइक्रो–रिफाइन्ड’, ‘डबल–रिफाइन्ड’, ‘अल्ट्रा–रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’ लगायतका शब्द प्रयोगमा रोक लगाउने प्रस्ताव गरिएको छ।
खाने तेल प्याकेजिङका लागि नेपाल गुणस्तर (एनएस) प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
एकपटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका कन्टेनर पुनः प्रयोग गरेर खाने तेल प्याक गर्न पूर्ण रूपमा रोक लगाउने प्रस्ताव गरिएको छ।
कन्टेनरमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन महिना वा वर्ष र खुद तौल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
मापदण्ड पूरा गर्ने उत्पादकले मात्र नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गर्न पाउनेछन्। विभागका अनुसार प्रस्तावित मापदण्ड कार्यान्वयनमा आएपछि खाने तेलको गुणस्तर तथा उपभोक्ता स्वास्थ्य सुरक्षामा थप कडाइ हुने अपेक्षा गरिएको छ।