
असोज ६ काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगलागी घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति उपचारकै क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक आगलागीमा गम्भीर घाइते भएका थिए। आगलागीपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
चालकको पहिचानका विषयमा भने अन्योल देखिएको छ। यसअघि चालकलाई दावा लामा भनिए पनि वास्तविक व्यक्ति सम्पर्कमा आएपछि पहिचानबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
घटनाअघि ट्राफिक प्रहरीसँग चालकको विवाद भएको भनिएको भिडियोसमेत सार्वजनिक भएको छ। त्यसपछि बसमा आगलागी हुँदा चालक स्वयं गम्भीर घाइते भएका थिए।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।