२०८३ आश्विन ६, मंगलबार

चालकको पहिचान

त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

त्रिपुरेश्वर बस आगलागी
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार घटनामा अर्जुनले दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको छ । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा उनको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न गतिविधिमा संलग्न भएको हुन सक्ने तथ्य खुलेको एसएसपी घिमिरेले बताए ।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि अर्जुन संलग्न रहेको पाइएको छ । उक्त घटनापछि उनी फरार रहेको प्रहरीले जनाएको छ । सो घटनामा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।

अर्जुनले अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस