
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी मृतकका परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
विज्ञप्तिअनुसार असोज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा. ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेको थियो । बस आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमनमा अवरोध भएपछि चालक दोङले हर्न बजाएको र त्यसपछि ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको संघसंस्थाहरूको दाबी छ ।
चालकले आफूबाट गल्ती नभएको बताएपछि विवाद भएको र ट्राफिक प्रहरीले यात्रुहरूलाई ओरालेर करिब दुई घण्टासम्म बस नियन्त्रणमा राखेको विज्ञप्तिमा उल्लेख छ । त्यसपछि बसलाई बग्गीखानातर्फ लैजान खोज्दा चालकले प्रतिवाद गरेको र मानसिक दबाब तथा हैरानी सहन नसकी शरीरमा आगो लगाएको संघसंस्थाहरूले दाबी गरेका छन् ।
ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको अवस्थामा चालकले आत्मदाह प्रयास गर्नु गम्भीर विषय भएको भन्दै उनीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन् । पूर्ण रूपमा जलेको बसका धनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै, सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकालाई कारबाही गर्न माग गरिएको छ ।
यातायात श्रमिकलाई श्रम ऐनअनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउने, सामाजिक सुरक्षामा आबद्ध गराउने तथा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार र हैरानीविरुद्ध उजुरीका लागि २४ घण्टे हेल्पलाइन तथा द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्न पनि माग गरिएको छ ।
संघसंस्थाहरूले सडकमा ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीमाथि छानबिन गर्नुपर्ने मागसमेत गरेका छन् । ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउँदै सरोकारवालासहितको अनुगमन संयन्त्र निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।
त्यस्तै, ट्राफिक प्रहरीलाई दिइएको तजबिजी अधिकारको दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनलाई पुनर्व्यवस्थित गर्न पनि माग गरिएको छ ।
मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्न ६ वटा महासंघ तथा संघका अध्यक्षहरू रहेको संयुक्त संघर्ष समिति गठन गरिएको छ ।
माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल ट्रक यातायात महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन् ।