२०८३ आश्विन ६, मंगलबार

तरकारी महँगियो, बजार मूल्य

बाटो खुले पनि तरकारीको भाउ घटेन, केहीमा १५० प्रतिशतसम्म वृद्धि

तरकारीको मूल्य वृद्धि
बाटो खुले पनि तरकारीको भाउ घटेन, केहीमा १५० प्रतिशतसम्म वृद्धि

काठमाडौं । अविरल वर्षा र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित भएको तरकारी तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भए पनि काठमाडौंको बजारमा तरकारीको मूल्यमा अपेक्षित कमी आएको छैन ।

गत भदौ १० र १४ गतेको वर्षा तथा बाढीका कारण धादिङको कृष्णभीरलगायतका स्थानमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । सडक बन्द हुँदा काठमाडौं उपत्यकामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको थियो ।

तर, सडक खुलेर यातायात तथा ढुवानी सहज भइसकेपछि पनि केही तरकारीको मूल्य झन् बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ ।

समितिले सार्वजनिक गरेको भदौ १६ गते र असोज ६ गतेको मूल्य विवरण तुलना गर्दा ब्रोकाउलीको मूल्य १५० प्रतिशतसम्म बढेको देखिन्छ । भदौ १६ गते प्रतिकेजी १३० रुपैयाँ रहेको ब्रोकाउलीको मूल्य असोज ६ गते ३२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, घिरौँलाको मूल्य १६.२५ रुपैयाँबाट बढेर ३५ रुपैयाँ पुगेको छ । लाम्चो भन्टाको मूल्य पनि १६.८८ रुपैयाँबाट बढेर ३५ रुपैयाँ पुगेको छ ।

रायोको सागदेखि भिण्डीसम्म महँगियो

दैनिक भान्सामा बढी प्रयोग हुने सागपात तथा तरकारीको मूल्यसमेत उल्लेख्य बढेको छ ।

भदौ १६ गते प्रतिकेजी ५१.४३ रुपैयाँ रहेको रायोको सागको मूल्य असोज ६ गते १०० रुपैयाँ पुगेको छ । यसैगरी सेतो मूला (हाइब्रिड) को मूल्य ८८.५५ प्रतिशत, तितो करेला ६२.५० प्रतिशत र भिण्डी तथा हरियो लसुनको मूल्य ५७.१४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

ठूलो गोलभेडा (नेपाली) को मूल्य भने १३.३३ प्रतिशतले घटेर प्रतिकेजी ६५ रुपैयाँमा झरेको छ । तर, साना गोलभेडा (लोकल, टनेल र भारतीय) को मूल्य १९ देखि ३८ प्रतिशतसम्म बढेको छ ।

केही तरकारीको मूल्य भने घट्योkrishi_upaj_mulya_talika_page-0002krishi_upaj_mulya_talika_page-0001

सडक तथा ढुवानी सहज भएपछि सबै तरकारीको मूल्य बढेको भने छैन । केही कृषि उपजको मूल्य उल्लेख्य घटेको कालीमाटी बजारको तथ्यांकले देखाएको छ ।

भदौ १६ गते प्रतिकेजी ४५० रुपैयाँ रहेको जिरीको सागको मूल्य ७२ प्रतिशतले घटेर १२५ रुपैयाँमा झरेको छ । त्यस्तै, रुख टमाटरको मूल्य २७५ रुपैयाँबाट घटेर १२५ रुपैयाँ पुगेको छ ।

अमलाको मूल्य १७५ रुपैयाँबाट घटेर ९० रुपैयाँ, चुकुन्दरको मूल्य १२० रुपैयाँबाट घटेर ६५ रुपैयाँ तथा सेलरीको मूल्य ४५० रुपैयाँबाट घटेर ३०० रुपैयाँमा आएको छ ।

केरा (नेपाली) को मूल्य ३६.३६ प्रतिशत र मालभोग केराको मूल्य ३४.२१ प्रतिशतले घटेको छ ।

केही वस्तुको मूल्य स्थिर

कालीमाटी बजारको तथ्यांकअनुसार केही कृषि तथा खाद्य वस्तुको मूल्य भने भदौ १६ देखि असोज ६ गतेसम्म परिवर्तन भएको छैन ।

ताजा माछामध्ये रहु प्रतिकेजी ३४४ रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी ३३५ रुपैयाँ तथा सुकेको माछा ९०० रुपैयाँमा स्थिर रहेको छ ।

त्यस्तै, हरियो फर्सी (डल्लो), पिँडालु, हरियो प्याज, न्यूरो, सजिउन, रातो बन्दा, पुदीना, तामा, तोफु, गुन्द्रुक, जुनार, किवि, नरिवल र सुकेको खुर्सानीको मूल्यमा पनि उक्त अवधिमा परिवर्तन नभएको तथ्यांकले देखाएको छ ।

उपभोक्ता अधिकारकर्मीहरूले भने सडक तथा ढुवानी सहज भइसकेपछि पनि स्थानीय रूपमा उत्पादन हुने सागपात तथा हरियो तरकारीको मूल्य बढ्नुको कारणबारे बजार अनुगमन र अध्ययन आवश्यक रहेको बताएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस