२०८३ आश्विन ७, बुधबार

१० वटा विधेयक

सरकारले एक सातामै संघीय संसद्मा दर्ता गर्‍यो १० वटा विधेयक

सरकारले पछिल्लो एक सातामा विभिन्न १० वटा विधेयक संघीय संसद्मा दर्ता गरेको छ। चालु वर्ष १६६ वटा कानुन बनाउने लक्ष्य राखिएको छ।
सरकारले एक सातामै संघीय संसद्मा दर्ता गर्‍यो १० वटा विधेयक

काठमाडौं । सरकारले पछिल्लो एक सातामा विभिन्न १० वटा विधेयक संघीय संसद्मा दर्ता गरेको छ। सरकारले कानुन निर्माण प्रक्रियालाई तीव्रता दिने उद्देश्यसहित विधेयक दर्ता अघि बढाएको हो।

मंगलबार मात्रै सरकारले तीन वटा विधेयक संघीय संसद्मा दर्ता गरेको छ। दर्ता भएका विधेयकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक रहेका छन्।

यसअघि असोज ५ गते पाँच वटा विधेयक दर्ता भएका थिए। तीमध्ये डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक रहेका छन्।

त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयकआमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि सोही दिन दर्ता भएका थिए।

असोज २ गते निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक र असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक संघीय संसद्मा दर्ता गरिएको थियो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकार कानुन निर्माण प्रक्रियालाई गति दिने गरी अघि बढिरहेको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बीबीएनजे) सम्झौता’ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन्।

उनले सरकारले चालु वर्षमा १६६ वटा कानुन बनाउने लक्ष्य राखेको र हालसम्म ४० भन्दा बढी विधेयक दर्ता भइसकेको जानकारी दिइन्।

मन्त्री गौतमले भनिन्, ‘यस वर्ष हामी १६६ वटा कानून बनाउने लक्ष्यमा छौं र अहिलेसम्म ४० भन्दा बढी दर्ता भइसकेका छन्।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस