२०८३ आश्विन ७, बुधबार

बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै, नेपालमा भारी वर्षाको जोखिम

नेपालमा भारी वर्षा
बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै, नेपालमा भारी वर्षाको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविद्हरूले उक्त प्रणालीको निरन्तर निगरानी गर्दै मौसमसम्बन्धी सूचना अद्यावधिक गरिरहेका छन्।

समाचार तयार पार्दासम्म उक्त प्रणालीले चक्रवातको रूप लिइसकेको छैन। चक्रवात बनेमा यसको शक्ति र नेपालमा पर्ने प्रभाव थप स्पष्ट हुने मौसमविद्हरूको भनाइ छ। यद्यपि न्यूनचापीय प्रणालीकै रूपमा रहँदा पनि यसले नेपालका अधिकांश भूभागमा वर्षा गराउन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडी तथा अरब सागरमा विकसित हुने यस्ता मौसमी प्रणालीले नेपालमा सामान्यतया प्रत्यक्षभन्दा अप्रत्यक्ष प्रभाव पार्ने गर्छन्।

भारत हुँदै नेपालतर्फ आउने सम्भावना

हाल उक्त प्रणाली अन्डमान–निकोबार क्षेत्रबाट आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको छ। समुद्रमा रहँदा प्रणालीले थप ऊर्जा र जलवाष्प प्राप्त गरी शक्तिशाली बन्न सक्ने मौसमविद्हरू बताउँछन्।

भारततर्फ प्रवेश गरेपछि जमिनसँगको घर्षणका कारण प्रणाली कमजोर हुन सक्छ। तर त्यसबाट विकसित बादल, जलवाष्प र वर्षाको प्रणाली भारत हुँदै नेपालसम्म आइपुग्ने सम्भावना छ।

प्रणालीको बाटो र शक्ति परिवर्तन हुन सक्ने भएकाले अहिले नै नेपालमा कति वर्षा हुन्छ र त्यसबाट कस्तो प्रभाव पर्छ भन्ने यकिन गर्न कठिन रहेको बताइएको छ।

काठमाडौं उपत्यकामा पनि डुबानको जोखिम

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार हालसम्मको आकलनमा यो प्रणाली भारतको झारखण्ड हुँदै उत्तर प्रदेशको गोरखपुर र बिहारतर्फ आउने सम्भावना देखिएको छ।

‘यदि बिहार र उत्तर प्रदेश आसपास हुँदै आयो भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम हुनसक्छ,’ सिग्देलले भने।

उनका अनुसार अहिलेको अनुमान गोरखपुरतिर हुँदै प्रणाली अघि बढ्ने सम्भावना बढी देखिएको छ। यस्तो अवस्थामा काठमाडौं उपत्यकासहित बागमतीको पूर्वी भाग, गण्डकी र लुम्बिनीमा तुलनात्मक रूपमा बढी प्रभाव पर्न सक्छ।

काठमाडौं तीव्र शहरीकरण भएको, खोलानाला अतिक्रमण तथा कमजोर निकासका कारण संवेदनशील क्षेत्र भएकाले लगातार ५० देखि ८० मिलिमिटरसम्म वर्षा हुँदा पनि केही क्षेत्रमा डुबानको जोखिम हुन सक्ने सिग्देलको भनाइ छ।

बिहीबारदेखि वर्षा बढ्ने, शुक्रबारदेखि मुख्य जोखिम

नेपालमा मौसमी प्रणालीको प्रभाव देखिन थालिसकेको छ। केही स्थानमा बादल लाग्ने र वर्षा हुने क्रम जारी छ।

बिहीबारदेखि वर्षा र बादलको क्षेत्र तथा मात्रा थप बढ्ने पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभागका अनुसार असोज ९, १० र ११ गते यसको प्रभाव बढी देखिन सक्छ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार प्रणालीको प्रभावले देशभर वर्षा तथा हिमपात हुनसक्नेछ। केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने सम्भावना छ।

हालसम्मको आकलनमा लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा तुलनात्मक रूपमा बढी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण तराईमा बाढी तथा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेकाले देशभर नै सतर्कता आवश्यक रहेको मौसमविद्हरू बताउँछन्।

उच्च हिमाली क्षेत्रमा हिमआँधीको जोखिम

मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनको जोखिम नक्सामा उच्च हिमाली भेगका जिल्लालाई उच्च जोखिममा राखिएको छ।

विभागकी प्रवक्ता पोखरेलका अनुसार उच्च हिमाली क्षेत्रमा ‘स्नो स्ट्रोम’ अर्थात् हिमआँधीको सम्भावना रहेकाले जोखिम बढी देखिएको हो।

मौसमविद्हरूले उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा रहेकाहरूलाई मौसमको अवस्था हेरेर यात्रा व्यवस्थापन गर्न सुझाव दिएका छन्।

१०० देखि १५० मिलिमिटर वर्षा हुँदा पनि जोखिम

केही स्वतन्त्र मौसमविद्ले सामाजिक सञ्जालमार्फत प्रणालीको प्रभाव अवधिमा ठूलो परिमाणमा वर्षा हुन सक्ने दाबी गरेका छन्। तर नेपालमा मौसमसम्बन्धी आधिकारिक जानकारी दिने मौसम विज्ञान विभागले हालसम्म निश्चित वर्षाको मात्रा सार्वजनिक गरेको छैन।

विभागका अनुसार ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरभन्दा कम वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ।

जमिन पहिले नै भिजेको अवस्थामा २४ घण्टामा १०० देखि १५० मिलिमिटरसम्म वर्षा हुँदा पनि पहिरो, बाढी तथा सडकमा क्षति हुने जोखिम बढ्न सक्ने मौसमविद् सिग्देल बताउँछन्।

‘अहिलेको अवस्थामा एक दिनमा एक सयदेखि डेढ सय मिलिमिटर मात्रै वर्षा भयो भने पनि जोखिम हुनसक्छ,’ उनले भने।

असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा नगर्न सुझाव

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मौसमविद्हरूले विशेषगरी रातिको समयमा यात्रा नगर्न सुझाव दिएका छन्। दिउँसो पनि सम्बन्धित क्षेत्रमा परेको वर्षा, सडकको अवस्था र प्रशासनको सूचनाका आधारमा मात्रै यात्रा गर्न उनीहरूले आग्रह गरेका छन्।

भारी वर्षाले सडक यातायातसँगै हवाई सेवामा समेत प्रभाव पार्न सक्ने भएकाले जोखिमअनुसार यातायात व्यवस्थापन गर्नुपर्ने सिग्देलको भनाइ छ।

‘सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा सकेसम्म नगरेकै बेस,’ उनले भने।

बाढी, पहिरो र डुबानबाट जोगिन पूर्वतयारी आवश्यक

जलाधार क्षेत्रमा ठूलो वर्षा हुँदा त्यसको प्रभाव तल्लो क्षेत्रमा रहेका नदी प्रणालीमा देखिन सक्ने भएकाले नदी, खोला तथा खोल्साको आसपास बसोबास गर्नेहरूले विशेष सतर्कता अपनाउनुपर्ने मौसमविद्हरूको सुझाव छ।

स्थानीय तहले पहिरो तथा बाढीको सम्भावित क्षेत्र पहिचान गर्ने, नदी तथा खोलाको निगरानी बढाउने, जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिने र आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्ने बताइएको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै किसानलाई पनि आवश्यक तयारी गर्न सुझाव दिइएको छ। पाक्न लागेको धान काट्ने समय र मौसमको अवस्था हेर्न तथा काटिएको धान सुरक्षित स्थानमा भण्डारण गर्न मौसमविद्हरूले आग्रह गरेका छन्।

आधिकारिक सूचना मात्रै पछ्याउन आग्रह

मौसम प्रणालीको दिशा र तीव्रता परिवर्तन भइरहने भएकाले पूर्वानुमान पनि समयअनुसार अद्यावधिक हुने गर्छ। त्यसैले सामाजिक सञ्जालमा आउने अपुष्ट तथा अतिरञ्जित सूचनाका आधारमा धारणा नबनाउन विज्ञहरूले आग्रह गरेका छन्।

मौसम तथा विपद्सम्बन्धी निर्णय गर्दा नेपाल सरकारका सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना पछ्याउनुपर्नेमा मौसमविद्हरूले जोड दिएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस