
काठमाडौं, ७ असोज । नागढुंगा ओरालोमा सडक भासिएको २१ दिन बितिसक्दा पनि मर्मत कार्य सम्पन्न हुन सकेको छैन। सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदा उक्त खण्डमा अझै एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ।
गत भदौ १७ गते नागढुंगा चेकपोस्टबाट करिब ७ सय मिटर अगाडि पात्ले वन क्षेत्रमा करिब २५ मिटर सडक भासिएको थियो। हाल भासिएको सडकभन्दा करिब १२ मिटर तलबाट नयाँ संरचना निर्माण गरी सडक पुनर्निर्माणको काम भइरहेको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिएका छन्।
सडक पूर्ण रूपमा मर्मत नभएकाले हाल उक्त खण्डबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर र मोटरसाइकल मात्र सञ्चालन भइरहेका छन्।
अन्य ठूला तथा साना सवारीसाधनलाई भने वैकल्पिक मार्गका रूपमा नागढुंगा सुरुङमार्गतर्फ डाइभर्ट गरिएको छ।
यसैबीच, मलेखु–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने कृष्णभीरमा २५१ मिटर सडक भासिएपछि गत भदौ १४ गतेदेखि काठमाडौंसँगको सिधा सडक सम्पर्क प्रभावित भएको थियो।
सडक भासिएको १८ दिनपछि सडक विभागले जोखिम मोलेर नयाँ ट्र्याक खोली उक्त खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको थियो।
हाल पृथ्वी राजमार्ग तथा मलेखु–मुग्लिन सडकखण्डमा सवारीसाधनको अत्यधिक चाप रहेको छ। कृष्णभीरमा बढेको सवारी चाप र नागढुंगा ओरालोको सडक मर्मत कार्य अझै सम्पन्न नभएको अवस्थालाई ध्यानमा राख्दै हाललाई सुरुङमार्ग सञ्चालनमा ल्याइएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
नागढुंगा ओरालोको सडक मर्मत सम्पन्न भएपछि यातायात सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ।