
काठमाडौं, ८ असोज । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी)लाई गाडी नियन्त्रणमा लिएको विषयमा धम्क्याएको भनिएको प्रकरण प्रतिनिधिसभामा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले बिहीबार प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाउँदै घटनाको छानबिन गर्न माग गरेकी हुन्।
भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर भन्सार अधिकृतले अत्यन्तै धम्कीपूर्ण भाषा प्रयोग गर्दै सशस्त्र प्रहरीका एसपीलाई थर्काएको विषय सार्वजनिक भएको भन्दै उनले संसद्को ध्यानाकर्षण गराइन्।
सांसद संग्रौलाले भनिन्, ‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयम् गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमाण्डको धज्जी उडाएका छन्।’
उनले अडियोमा प्रयोग भएको ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको अर्थसमेत स्पष्ट पार्नुपर्ने बताइन्।
‘यो स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि, तिमीलाई भेटेर हान्छु भनेको हो कि अथवा तिम्रो पद खान्छु भनेको हो ?’ उनले प्रश्न गरिन्।
सांसद संग्रौलाले एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई समेत धम्की दिन सक्ने अवस्था हो भने संसद्ले के गरिरहेको छ भन्ने प्रश्नसमेत उठाइन्।
उनले उक्त घटनाले राज्य संयन्त्रको छविमै प्रश्न उठाएको भन्दै सार्वजनिक भएको अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
घटनासँग सम्बन्धित अडियो तथा आरोपबारे सम्बन्धित निकायबाट थप आधिकारिक विवरण आउन बाँकी छ।