काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।
दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो भोटाहिटीका नाममा परमादेश जारी गरेको हो।
यसअघि सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न प्रहरीलाई आदेश दिएको थियो। साथै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
उक्त आदेशपछि दाहाललाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो।
दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीति तथा उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो।
सर्वोच्चको आदेशसँगै दाहाललाई तारेखमा राखेर अनुसन्धान अघि बढाउने बाटो खुलेको छ।