
९ असोज, काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडकखण्ड जोखिममा परेको छ । सडक सुरक्षाका लागि निर्माण गरिएको पुरानो सडकको ग्याबियन वाल भासिएपछि केही दिनअघि सञ्चालनमा ल्याइएको नयाँ ट्र्याकसमेत जोखिममा परेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार नयाँ ट्र्याकभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएर तल खसेको छ । वाल भासिँदा त्यसको असर नयाँ ट्र्याकमा पर्न सक्ने उनले बताए ।
‘नयाँ ट्र्याक खोलिएको भन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । यसको असर नयाँ ट्र्याकमा पर्न सक्छ,’ डीएसपी दाहालले भने ।
सडक विभागले पनि कृष्णभिरमा सडकको नदीतर्फको ग्याबियन वाल केही तल झरेको पुष्टि गरेको छ । विभागका अनुसार हाल सञ्चालनमा रहेको सडक माथिको स्लोपमा भने समस्या देखिएको छैन । सडकको अवस्थाबारे प्रोजेक्ट टिमले निरन्तर निगरानी गरिरहेको विभागले जनाएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतले नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाइएको ग्याबियनको भाग नै भासिएको बताए । उनका अनुसार तल्लो भाग कमजोर बनेकाले सडकमा जोखिम बढेको छ ।
उनले कृष्णभिरको सडकखण्ड भएर यात्रा नगर्न यात्रु तथा चालकलाई आग्रह गरेका छन् ।
यसअघि गत १० र १४ भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कृष्णभिरको सडकखण्ड कटान गरेको थियो । बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग लामो समय अवरुद्ध भएको थियो ।
सडक कटान भएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी १ असोजदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो । तर, सञ्चालनमा आएको केही दिनमै नयाँ ट्र्याकलाई टेवा दिने ग्याबियन वाल भासिएपछि उक्त सडकखण्डको सुरक्षामाथि पुनः प्रश्न उठेको छ ।