
९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी किनारका करिडोर सडकमा यात्रा नगर्न आग्रह गरेको छ ।
ललितपुरको च्यासलस्थित पुललाई बाढीले छोएपछि उक्त पुलबाट आवतजावतमा रोक लगाइएको छ । जोखिम बढेपछि प्रहरीले उपत्यकाका विभिन्न नदी तथा खोलाको तटीय क्षेत्रमा निगरानीसमेत बढाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नदी तथा खोलामा जलसतह बढेपछि करिडोर क्षेत्रमा माइकिङ गरेर यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ ।
उनका अनुसार खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सवारीसाधन हटाउनसमेत आग्रह गरिएको छ । च्यासल पुललगायत जोखिमयुक्त स्थानमा प्रहरी परिचालन गरिएको छ ।
यसैबीच, नेपाल मौसम विज्ञान विभागका मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षा भइरहेको छ । उक्त प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको मौसमविद् रोजन लामिछानेले बताए ।
उनका अनुसार शनिबारदेखि पूर्वी क्षेत्रको तुलनामा बागमती प्रदेशदेखि पश्चिमतर्फका जिल्लामा बढी वर्षा हुने सम्भावना रहेको छ ।