२०८३ आश्विन ९, शुक्रबार

कलंकीमै रोकिए काठमाडौं बाहिरिने सवारी

पृथ्वी राजमार्ग बन्द भएपछि कलंकीमा सवारीको लावालस्कर

पृथ्वी राजमार्ग बन्द
पृथ्वी राजमार्ग बन्द भएपछि कलंकीमा सवारीको लावालस्कर

९ असोज, काठमाडौं । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई रोकिएको छ।

लगातारको वर्षाका कारण धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। तीमध्ये केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने केही स्थानमा एकतर्फी रूपमा सञ्चालनमा रहेको जनाइएको छ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको कलंकी तथा बल्खु क्षेत्रमा पृथ्वी राजमार्ग हुँदै बाहिरिने बस, माइक्रोबस, ट्रक तथा अन्य सवारीसाधनको लामो लाइन लागेको छ। यात्रुहरू सवारीसाधनमै रोकिएका छन्।

धादिङका विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तर वर्षाका कारण सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो निर्णयअनुसार पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।

यस्तै, पहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथसमेत अवरुद्ध भएका छन्। वर्षा नरोकिएपछि राजमार्ग क्षेत्रमा थप पहिरो तथा सडक अवरोधको जोखिम रहेको भन्दै प्रशासनले यात्रुलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस