२०८३ आश्विन ९, शुक्रबार

बीपी राजमार्ग

रोशी खोलाको बाढीले चौकीडाँडाको अस्थायी डाइभर्सन बगायो, बीपी राजमार्ग ठप्प

रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएपछि पूर्वी नेपालसँगको सडक सम्पर्क विच्छेद
रोशी खोलाको बाढीले चौकीडाँडाको अस्थायी डाइभर्सन बगायो, बीपी राजमार्ग ठप्प

काभ्रे । काभ्रेको बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा रोशी खोलामा आएको बाढीले करिब १०० मिटर लामो अस्थायी डाइभर्सन पूर्णरूपमा बगाएको छ।

शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको हो। डाइभर्सन बगेपछि काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध भएको छ।

यसअघि बाढीले मूल सडकमा क्षति पुर्‍याएपछि चौकीडाँडामा अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको थियो। तर लगातारको वर्षासँगै रोशी खोलामा आएको बाढीले उक्त डाइभर्सनसमेत बगाएको हो।

बीपी राजमार्गकै रोशी गाउँपालिका–७ घुमाउनेमा निर्माण गरिएको अस्थायी डाइभर्सनसमेत बाढीले बगाएको जनाइएको छ। त्यस्तै, चौकीडाँडा, चारसयबेँसी, गिम्दीबेँसी र माम्ती क्षेत्रमा पहिरो तथा लेदो खसेपछि राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्।

अविरल वर्षा भइरहेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिन रहेको प्रहरीले जनाएको छ। राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारीचालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

स्थान : नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा, काभ्रे
समय : २०८३ असोज ९ गते, शुक्रबार बिहान करिब ९ बजे

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस