
असोज ११ काठमाडौं । मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह तीव्र रूपमा बढिरहेको छ ।
आइतबार एक घण्टामै कुलेखानी जलाशयको पानीको सतह २३ सेन्टिमिटरले बढेको छ । जलाधार क्षेत्रमा शनिबार रातिदेखि निरन्तर भारी वर्षा भइरहेकाले जलाशयमा पानीको सतह बढ्दै गएको हो ।
जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले इन्द्रसरोवर भरिन अब करिब ४ मिटरमात्र बाँकी रहेको बताइएको छ ।
कुलेखानी जलाशयमा पानीको सतह बढेसँगै कुलेखानी जलविद्युत् आयोजनाको उत्पादन तथा जलाशयको अवस्थाबारे पनि निगरानी बढाइएको छ ।
जलाधार क्षेत्रमा अझै वर्षा भइरहेकाले आगामी घण्टामा जलाशयमा पानीको सतह थप बढ्न सक्ने अनुमान गरिएको छ ।