२०८३ आश्विन ११, आईतबार

तमानखोला पहिरो

तमानखोलामा पहिरो, मानवीय क्षति भएको आशंका

तमानखोला–४ लाम्लेलामा पहिरो, सञ्चार सम्पर्क विच्छेद हुँदा घटनाको विवरण आउन सकेन
तमानखोलामा पहिरो, मानवीय क्षति भएको आशंका

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्लेलामा पहिरो जाँदा मानवीय क्षति भएको आशंका गरिएको छ । पहिरोमा परी केही व्यक्ति पुरिएको बताइए पनि घटनास्थलमा सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार घटनास्थलमा प्रहरी तथा अन्य सरोकारवाला निकायको टोली पुग्ने क्रममा छ । तर, घटनास्थलमा टेलिफोन नेटवर्क नहुँदा त्यहाँको वास्तविक अवस्था बुझ्न कठिनाइ भइरहेको छ ।

‘पहिरो गएको र मानिसहरू परेको भन्ने जानकारी सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्राप्त भएको छ । तर कति जनाको क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन,’ परियारले भने, ‘त्यहाँ फोन लाग्दैन, वडाध्यक्षज्यूको फोनमा पनि सम्पर्क हुन सकेको छैन । त्यसैले वास्तविक विवरण पाउन सकेका छैनौँ ।’

मौसम प्रतिकूल हुँदा सञ्चार सम्पर्कमा थप समस्या आएको जनाइएको छ । सामान्य अवस्थामा पनि नेटवर्क कमजोर रहेको उक्त क्षेत्रमा अहिले वर्षा र बादलका कारण फोन सम्पर्क पूर्ण रूपमा विच्छेद भएको बताइएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न समेत कठिनाइ भएको छ । प्रहरी तथा स्थानीय टोली घटनास्थलतर्फ गए पनि उनीहरूसँग समेत सम्पर्क हुन नसकेको जनाइएको छ ।

‘बाटोघाटो पनि बन्द छ, ठाउँ–ठाउँमा पहिरो गइरहेको छ,’ परियारले भने, ‘हाम्रा साथीहरू र प्रहरी घटनास्थलतर्फ पुग्ने कोसिस गरिरहनुभएको छ, तर पुग्न कठिन भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय बागलुङले पनि उद्धार टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यसैबीच, आजै बागलुङकै निसीखोला गाउँपालिका–३ हर्दरामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस