
११ असोज, धादिङ । निरन्तर वर्षाका कारण मलेखु–मुग्लिङ सडकखण्डका विभिन्न १० स्थानमा पहिरो खस्नुका साथै सडक क्षति भएपछि यातायात आवागमन गम्भीर रूपमा प्रभावित भएको छ ।
कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारामा पहिरोका कारण सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
फिस्लिङ क्षेत्रमा २०० मिटरभन्दा बढी सडक ठूलो ढुंगा, लेदो र रुखसहितको पहिरोले पुरिएको छ । यस्तै, धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको जनाइएको छ ।
अन्य केही स्थानमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । तर वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम उच्च रहेको छ । सडक पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भन्ने यकिन हुन सकेको छैन ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।