२०८३ आश्विन १३, मंगलबार

अविरल वर्षापछि आएको बाढी, पहिरो र भारी वर्षाका घटनामा देशभर २७ जनाको मृत्यु भएको छ । ५४२ विपद्का घटनामा घर, सडक, पुल, विद्युत् र सञ्चार क्षेत्रमा क्षति पुगेको छ ।

अविरल वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु, कहाँ के-के भयो क्षति ?

अविरल वर्षापछिको विपद्
अविरल वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु, कहाँ के-के भयो क्षति ?

१३ असोज, काठमाडौं । असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलगायतका विपद्का घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर ५४२ वटा विपद्का घटना भएका छन् । ती घटनामा ४ जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । विपद्का कारण देशभर १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै मानवीय क्षति पहिरोका कारण भएको छ । देशभर ३०४ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परी २० जनाको मृत्यु, ४ जना बेपत्ता र ७ जना घाइते भएका छन् ।

त्यस्तै, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ । भारी वर्षासँग सम्बन्धित १५१ वटा घटनामा थप ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।

२२७ घर पूर्ण रूपमा क्षतिग्रस्त

अविरल वर्षा र बाढीपहिरोका कारण देशभर २२७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ ।

त्यस्तै, बाढी तथा पहिरोका कारण ३१ वटा गोठमा क्षति पुगेको छ भने ११४ वटा पशुचौपायाको मृत्यु भएको प्राधिकरणको विवरणमा उल्लेख छ । १० वटा पुलमा समेत क्षति पुगेको छ ।

सडक तथा यातायातमा ठूलो असर

बाढीपहिरोका कारण देशभरका सडक तथा राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ । पछिल्लो विवरणअनुसार १४७ स्थानमा सडक प्रभावित भएकामा १२५ स्थानमा मर्मत तथा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डका केही स्थानमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ भने बीपी राजमार्ग, कालीगण्डकी करिडोरलगायतका केही सडकखण्डमा अझै मर्मत तथा पहिरो हटाउने काम जारी छ ।

जलविद्युत् र सञ्चार क्षेत्रमा पनि क्षति

बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणमा समेत असर परेको छ । विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा विद्युत् उत्पादन प्रभावित भएको छ ।

त्यस्तै, बाढीपहिरोका कारण नेपाल टेलिकम र एनसेलका विभिन्न टावरमा समेत क्षति पुगेको थियो । प्रभावित टावरमध्ये केही पुनः सञ्चालनमा ल्याइएको विवरण सार्वजनिक भएको छ ।

प्राधिकरणका अनुसार वर्षाजन्य विपद्मा परेका नागरिकको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन भएका छन् । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको कामसमेत भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस