
१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमण उपयुक्त समयमा हुने बताएका छन्। उनले भ्रमणको औपचारिक मिति भने अहिलेसम्म तय नभएको स्पष्ट पारेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आएको बताए।
उनले उक्त निम्तोलाई सरकारले सकारात्मक रूपमा लिएको जानकारी दिँदै उपयुक्त अवसर पारेर प्रधानमन्त्रीको भारत भ्रमण गराउने तयारी भइरहेको बताए।
‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’
भ्रमणको मिति कहिले तय हुन्छ भन्ने प्रश्नमा मन्त्री खनालले अहिलेसम्म यकिन नभएको बताए। उनले भ्रमण सकेसम्म फलदायी र परिणाममुखी बनाउने विषयमा नेपाल र भारत दुवै पक्षको अपेक्षा रहेको उल्लेख गरे।
‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ,’ उनले भने।