
१४ असोज, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ । विद्युत् आपूर्तिमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न सरकारले वैकल्पिक तयारी अघि बढाएको छ ।
बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापनमा चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा परेको चापलाई व्यवस्थापन गर्न वैकल्पिक आपूर्ति प्रणाली विकासको गृहकार्य भइरहेको छ ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले यसका लागि छुट्टै टास्क फोर्स बनाएर काम अघि बढाएको छ ।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थापन तथा आगामी हिउँदको मागलाई ध्यानमा राख्दै थप भूमिगत ग्रिड निर्माणका लागि ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाबीच छलफल भएको छ ।
मंगलबार भएको छलफलमा काठमाडौं उपत्यकामा भूमिगत विद्युत् ग्रिड निर्माणलाई थप व्यवस्थित बनाउने तथा हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका विषयमा छलफल गरिएको हो ।
प्रवक्ता शाक्यका अनुसार भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयता कायम गर्न तथा थप भूमिगत ग्रिड निर्माणका लागि निश्चित कार्यतालिका बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ ।
छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापनका लागि आवश्यक सहकार्य गर्ने बताए ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वितरण तथा ग्राहक सेवा निर्देशनालयसँग सघन सहकार्य गरिने बताए ।
छलफलमा बागमती वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौंको लोड व्यवस्थापन तथा आवश्यक कार्यका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले प्राधिकरणले टास्क फोर्स बनाएर हिउँदमा हुने विद्युत् माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि सबै सम्बन्धित निकायबीच उच्चस्तरको सहकार्य आवश्यक रहेको बताए ।
उनले हिउँदमा विद्युत् चाप बढ्ने अवस्थालाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।
भोटेकोशी बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा परेको असरपछि सरकारले तत्कालीन आपूर्ति व्यवस्थापनसँगै आगामी हिउँदमा हुन सक्ने विद्युत् मागलाई ध्यानमा राखेर वैकल्पिक संरचना निर्माण तथा भूमिगत ग्रिड विस्तारलाई प्राथमिकतामा राखेको छ।