२०८३ आश्विन १४, बुधबार

सुदूरपश्चिमदेखि गण्डकीसम्मका झोलुङ्गे पुलमा क्षतिको प्रारम्भिक विवरण, सडक अवरुद्ध हुँदा स्थलगत विवरण सङ्कलनमा कठिनाइ

बाढीले देशभरका झोलुङ्गे पुलमा क्षति, दोधारा–चाँदनीको पुलको पिल्लर भाँचियो

बाढीले देशभरका झोलुङ्गे पुलमा क्षति, दोधारा–चाँदनीको पिल्लर भाँचियो
बाढीले देशभरका झोलुङ्गे पुलमा क्षति, दोधारा–चाँदनीको पुलको पिल्लर भाँचियो

१४ असोज, काठमाडौं । पछिल्लो समय परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलमा क्षति पुगेको छ । बाढी–पहिरोका कारण सडक सञ्जालसमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीका अनुसार सुदूरपश्चिमको महाकाली नदी क्षेत्रदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका विभिन्न झोलुङ्गे पुलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुग्न समस्या भइरहेको उनले बताए । प्रदेशस्तरमा सीमित कार्यालय रहेका कारण पनि सबै क्षेत्रको विस्तृत विवरण तत्काल सङ्कलन गर्न चुनौती देखिएको अधिकारीको भनाइ छ ।

‘बाढीले बाटो बगाएका कारण हाम्रा प्राविधिक साथीहरूलाई प्रभावित स्थलमै पुग्न समस्या भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘जिल्ला–जिल्लामा कार्यालय नहुँदा र प्रदेशस्तरमा एउटा मात्र कार्यालय रहँदा सबै क्षेत्रको यथार्थ विवरण तत्काल जुटाउन केही कठिनाइ भएको हो, विवरण सङ्कलनको काम भइरहेको छ ।’

दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो

यसैबीच कञ्चनपुरमा दोधारा–चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने झोलुङ्गे पुलमा समेत बाढीका कारण क्षति पुगेको छ ।

करिब १ हजार ४ सय ५३ मिटर लामो उक्त झोलुङ्गे पुलका ८ वटा पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिएको जनाइएको छ ।

पुलको दोधारा तर्फ करिब ५.६ मिटरको भाग माथि उठेपछि आवतजावतमा समस्या भएको छ । पिल्लरसमेत भाँचिएपछि पुलको संरचनामा क्षति पुगेर आवागमन अवरुद्ध भएको हो ।

महाकाली नदीमा आएको बाढीका कारण पुलको संरचनामा क्षति पुगेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । क्षतिग्रस्त पुलको अवस्थाबारे प्राविधिक टोलीबाट थप अध्ययन तथा विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ ।

देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण झोलुङ्गे पुलमा क्षति पुगेको प्रारम्भिक विवरण आएपछि स्थानीय पूर्वाधार विकास विभागले सम्बन्धित क्षेत्रबाट विवरण सङ्कलन गरिरहेको छ । सडक पहुँच सहज भएपछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विस्तृत विवरण तयार गरिने विभागले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस