१५ असोज, काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले सोही व्यवस्थाअनुसार संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
संघीय संसद्को चालु अधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि सुरु भएको थियो । यस अवधिमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न कानुन निर्माण भएका छन् ।
यस्तै, संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेशसमेत स्वीकृत भएका छन् । स्वीकृत अध्यादेशले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत भई पारित भएका छन् ।
चालु अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो । समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा सम्बोधन गर्ने कार्यसमेत भएका छन् ।
तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेन ।
सरकारको सिफारिस स्वीकृत भएपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी औपचारिक निर्णय हुनेछ ।